काठमाडौँ,
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनलाई प्राथमिकता दिँदै बुधबार (मङ्सिर ९ गते) का लागि पेसी तोकेको छ।न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई विचार गर्दै शीघ्र निरूपण गर्नुपर्ने देखिएकाले सुनुवाइको मिति तोक्न आदेश दिएको हो। रिटमा विपक्षी बनाइएका नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीका नाममा म्याद तामेल हुन नसक्दा सोमबारको सुनुवाइ प्रभावित भएको थियो।अदालतका तामेलदारले डा. केसी बैठकमा रहेको भन्दै कार्यालयले पर्खाएको र म्याद बुझ्नसमेत इन्कार गरेको प्रतिवेदन पेस गरेका थिए। यद्यपि, सोमबारको इजलासमा प्रहरी प्रधान कार्यालयका अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको जिकिर गरेपछि अदालतले ती अधिवक्तामार्फत नै केसीको नाममा जारी म्याद बुझाउन आदेश दिएको छ।प्रहरी नियमावली, २०७१ अनुसार चार वर्षे पदावधिमध्ये १८ महिना समय बाँकी छँदै सरकारले गत कात्तिक १८ गते कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो। सोही निर्णय बदरको माग गर्दै कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी केसीलाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो। यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै मङ्सिर ७ गतेका लागि पेसी तोकेको थियो।






