सुर्खेत/
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि सुरु हुने पुरुष फुटबलको शुभारम्भ खेलमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। रङ्गशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने र खेललाई दर्शकमैत्री बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उद्घाटन खेल सबैका लागि फ्रि गरिएको जनाएको छ।सुर्खेतस्थित कर्णाली रङ्गशालामा दिउँसो १:०० बजे शुभारम्भ खेल आयोजना हुनेछ। आगामी मङ्सिर १६ गते औपचारिक उद्घाटन तय भए पनि आजैदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी गरी पाँच खेलका प्रतिस्पर्धा सुरु भएका छन्।राखेपको तालिकाअनुसार यसपटक ३२ खेलमध्ये अधिकांश २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् भने बाँकी ९ खेल कर्णालीका अन्य जिल्लाहरू (सल्यान, दैलेख, कालीकोट, जुम्ला, पश्चिम रुकुम) तथा लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन्।सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिमको सहभागिता रहने यस प्रतियोगितामा ३८४ इभेन्ट्सका लागि १ हजार ३३७ पदका वास्ते प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कांस्य पदक विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार दिने व्यवस्था गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते र समापन मङ्सिर २७ गते वीरेन्द्रनगरस्थित कर्णाली रङ्गशालामा हुनेछ।






