काठमाडौँ/
नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोणको चर्चा गरिए पनि नेपालको आफ्नै स्पष्ट कार्ययोजना नभएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ।मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले भारत भ्रमणबाट फर्कनुभएका अर्थमन्त्रीसँग दीर्घकालीन विकास रणनीति र भ्रमणका सहमतिबारे स्पष्ट पार्न आग्रह गर्नुभएको हो।भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने विस्तृत योजना बनाएको उल्लेख गर्दै पूर्वअर्थ योजनाकारसमेत रहनुभएका कँडेलले नेपालको ‘समुन्नत नेपाल’ अवधारणाको आधार र कार्यान्वयन दस्तावेजबारे प्रश्न उठाउनुभयो। पन्ध्रौँ र सोह्रौँ योजनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन सोचलाई निरन्तरता दिएको स्मरण गराउँदै उहाँले राष्ट्रिय योजना आयोगसँग समेत नयाँ अवधारणाको दस्तावेज नभएको जानकारी आफूले पाएको बताउनुभयो।सांसद कँडेलले भारत भ्रमणका क्रममा चर्चामा आएका विभिन्न विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। भैरहवा विमानस्थलका लागि दोहोरो हवाई रुट पाउनु सकारात्मक भए पनि भारतीय सञ्चारमाध्यममा आएको नेपालको १५० किलोमिटर भूमि भारतले खरिद गरेको भन्ने समाचार र बागडोगरा विमानस्थलसम्बन्धी चर्चाको वास्तविकता स्पष्ट पार्न उहाँले माग गर्नुभयो। यसैगरी, सुनकोशी–सप्तकोसी र सुनकोसी–कमला डाइभर्सन आयोजना एउटै वा फरक हुन् भन्नेबारे प्रष्ट पार्न आग्रह गर्दै उहाँले भारतसँगको १८४ अर्ब रुपैयाँ ऋणको ब्याजदर, भुक्तानी अवधि र अन्य वित्तीय सर्तहरू सार्वजनिक गर्न माग गर्नुभयो। सञ्चारमाध्यमका विवरण र आधिकारिक तथ्य फरक हुनसक्ने भन्दै कँडेलले अर्थमन्त्रीबाट यथार्थ जानकारीको अपेक्षा गर्नुभएको छ।






