काठमाडौँ/
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले सोमबार हैदराबाद हाउसस्थित निलगिरी हलमा समकक्षी मोदीसँग वार्ता थालेका हुन्। प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै वान टु वान गरी करिब एक घण्टा चल्ने उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका विविध विषयमा छलफल भइरहेको छ। भेटवार्तामा नेपाली पक्षबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा। एस जयशङ्करसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।मोदीसँगको भेटवार्ताअघि प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा गार्ड अफ अनरु ग्रहण गरेका थिए। त्यसलगत्तै उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।निर्धारित कार्यतालिकाअनुसार भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीच केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर हुनेछ। हस्ताक्षर समारोहलगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्। भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आजै स्वदेश फर्किने कार्यक्रम छ।






