जनकपुरधाम/
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका आठ वटै जिल्लामा गरिबी र बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यसहित ‘एकीकृत रोजगार कार्यक्रम’ सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको छ। पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आज कार्यभार सम्हाल्दै उहाँले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणका लागि यो महत्त्वेपूर्ण कदम चाल्नुभएको हो।प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरता जस्ता गम्भीर समस्याको समाधान गर्न सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने निर्णयमा उल्लेख छ। प्रस्तावित यस कार्यक्रमअन्तर्गत ‘पुनः सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन’, ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’, ‘वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम’ र ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गरिनेछन्।विशेषगरी आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि कृत्रिम बुद्धिमत्ता एआई ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गरी युवाको क्षमता तथा उद्यमशीलता विकास गर्ने लक्ष्य लिइएको छ। आगामी एक महिनाभित्रै प्रदेशका आठ वटै जिल्लामा यी कार्यक्रमहरू प्रारम्भ गर्ने गरी प्रस्ताव गरिएको छ।यसअघि आज बिहान प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णबाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। शपथलगत्तै उहाँले प्रदेश कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो। कार्यभार सम्हाल्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले प्रदेशको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूसँग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले छिट्टै सबै दलको सहमतिमा सरकार विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।






