बीबीसी हिन्दी /
भारत र बङ्गलादेशको सिमानामा पर्ने ‘नो–म्यान्स ल्यान्ड’ अर्थात् शून्य रेखामा एक महिला बितेको पाँच दिनदेखि अलपत्र अवस्थामा बस्नुभएको छ।खुला आकाशमुनि, सुकेको खर–परालमाथि एउटा पातलो कम्बलको भरमा दिनरात बिताउन बाध्य ती महिलालाई भारत र बङ्गलादेश दुवै देशले आफ्नो नागरिक मान्न अस्वीकार गरेका छन्। बङ्गलादेशको जमालपुर जिल्लाको पाथरर चर सीमा क्षेत्रमा गएको मङ्गलवार बिहानदेखि ती महिला अलपत्र पर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। सीमा स्तम्भ नम्बर १०७६र१ नजिकै पाथरर चर क्षेत्रमा अलपत्र परेकी ती महिला करिब ३० वर्षकी रहेको अनुमान गरिएको छ। मङ्गलवार बिहान करिब ८ बजे भारतको सीमा सुरक्षा बल बीएसएफले ती महिलालाई बङ्गलादेशतर्फ धकेल्ने प्रयास गरेको बङ्गलादेशको सीमा रक्षक बल बीजीबीको दाबी छ। बीजीबी र स्थानीय बासिन्दाको प्रतिरोधपछि उहाँ शून्य रेखामै रोकिनुभएको हो।महिलाले आफ्नो परिचयबारे स्पष्ट जानकारी दिन नसकेको बताइएको छ। सुरुमा उहाँले आफ्नो नाम फुजी बेगम, बाबुको नाम हनिफ भएको बताउनुभएको थियो। तर पछि सोधपुछमा उहाँले ठेगाना र परिचयबारे बाझिने र असंगत कुरा गर्नुभएको अधिकारीहरूले बताएका छन्। उहाँ मानसिक रूपमा अस्वस्थ हुन सक्ने अनुमान पनि गरिएको छ।बीएसएफले ती महिला बङ्गलादेशी नागरिक भएको दाबी गरेको छ भने बीजीबीले उहाँलाई भारतबाट धकेलिएको र त्यसको प्रमाण आफूसँग रहेको बताएको छ। दुवै पक्षबीच यस विषयमा कुराकानी भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन।यता स्थानीय बासिन्दाले भने मानवीयताका आधारमा ती महिलालाई पानी, रोटी र खाना दिँदै आएका छन्। “उहाँलाई हामीले पानी र रोटी दिएर जीवित राखेका छौं,” स्थानीय अब्दुल करिम शेखले भन्नुभयो।देवानगञ्ज उपजिल्लाका निर्वाहक अधिकृत यूएनओ शाह जोहुरुल हुसैनले महिला अझै शून्य रेखामै रहेको र अवस्था निगरानीमा राखिएको पुष्टि गर्नुभयो। बीजीबीले सीमामा गस्ती बढाएको र सर्चलाइट जडान गरेको छ।मानवअधिकारकर्मीहरूले यो घटना गम्भीर मानवीय र कूटनीतिक विषय भएको भन्दै दुवै देशलाई चाँडो फ्ल्याग बैठक गरेर समाधान खोज्न आग्रह गरेका छन्।






