ललितपुर/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने बताउनु भएको छ। एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई च्यासलमा सम्बोधन गर्दै उहाँले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो। त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उहाँको भनाइ थियो। अध्यक्ष ओलीले पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो।“पार्टीमा बस्ने, पार्टीको सदस्यता लिने, तर भोट अर्को दललाई दिने — यो प्रवृत्ति स्वीकार्य हुँदैन,” अध्यक्ष ओलीले भन्नुभयो, “यस्तो अनुशासनहीनता अन्त्य गर्नुपर्छ। प्रमाण भेटिए कारबाही हुन्छ।”अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। आन्तरिक मतभेदलाई बाहिर लगेर पार्टी कमजोर बनाउने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो।उहाँले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने पनि बताउनुभयो। एमाले सिद्धियो भन्नेलाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनमार्फत देखाउनुपर्ने उहाँको भनाइ थियो। अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न तर्फबाट संयुक्त आक्रमण गरिएको र यसमा सरकारको स्वेच्छाचारिता, अधिनायकवादी सोच तथा फासीवादी प्रवृत्ति देखिएको आरोप लगाउनुभयो।बैठकमा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिनुभयो। बैठक आइतबारसम्म सञ्चालन हुनेछ।बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा संगठन सुदृढीकरण, जनपरिचालन र आगामी निर्वाचनको रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।






