काठमाडौं /
नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। निरोशन डिकवेलाले २७, दिलिप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान दिए। रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए।जवाफी ब्याटिङमा जनकपुरको सुरुआत राम्रो हुन सकेन। मध्यक्रम धराशायी भएपछि जनकपुर दबाबमा परेको थियो। जनकपुरका कप्तान हरमीत सिंहले २० बलमा ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए। सैफ हसनले २८ र त्रितराज दासले १८ रन बनाए। आदित्य महताले २४ बलमा ४ छक्कासहित नटआउट ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले २र२ विकेट लिए। रुबेन ट्रम्पलमनले १ विकेट लिए।यो जितसँगै लुम्बिनीले ४ खेलमा ३ जित र १ खेल वर्षाका कारण रद्द हुँदा ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। लुम्बिनीको अपराजित यात्रा कायमै छ।यता ५ खेलमा ३ हार बेहोरेको जनकपुर २ जितसहित ४ अंकमा छ। प्लेअफ पुग्न अब जनकपुरले बाँकी दुवै खेल जित्नुपर्ने दबाब बनेको छ।






