काठमाडौं/
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शपथ ग्रहण तथा पदबहाली कार्यक्रमपछि बोल्दै सभापति थापाले बिचौलिया प्रकरणले राज्यका सबै अंगलाई नै कलंकित बनाएको बताउनुभयो।उहाँले भन्नुभयो, यो एउटा व्यक्ति, एउटा पार्टी वा एउटा संस्थाको मात्र प्रश्न होइन, यो न्यायपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजनीतिसँग जोडिएको गम्भीर विषय हो। त्यसैले सरकारले यसलाई सामान्य घटनाको रूपमा हेर्नु हुँदैन। गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्नुपर्छ। थापाले बिचौलिया इनम सापकोटा प्रकरणमा नाम जोडिएका प्रधानन्यायाधीश, बहालवाला र पूर्व प्रहरी अधिकृत, सांसद लगायत सबै व्यक्तिको पहिचान गरी दोषी ठहरिए जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताउनुभयो।उहाँले भन्नुभयो, निर्दोष कोही पनि फस्नु हुँदैन, दोषी कोही पनि उम्कनु हुँदैन। यदि यो प्रकरणमा राजनीतिक संरक्षण वा सरकारी दबाबमा अनुसन्धान कमजोर बनाइयो भने कांग्रेस चुप लागेर बस्दैन। हामी सडकदेखि संसदसम्म खबरदारी गर्छौं।”
पछिल्ला दिनहरूमा बिचौलिया इनम सापकोटाको मोबाइलमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल, पूर्व एआईजी तथा रास्वपा सांसद विश्वराज पोखरेल र बर्खास्त भएका सशस्त्र प्रहरीका एआईजी वंशी दाहाल लगायतका व्यक्तिहरूको नाम र आर्थिक कारोबारको विवरण भेटिएको भन्दै समाचारहरू सार्वजनिक भएका थिए। यसपछि प्रधानन्यायाधीश शर्माले विज्ञप्ति जारी गर्दै आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारिसक्नुभएको छ भने नेपाल प्रहरीले दानबहादुर कार्की सहितका उच्च अधिकारीहरूलाई बोलाएर छलफल गरिरहेको छ।यसै विषयलाई लिएर नेपाली बार एसोसिएसनले पनि स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेको बेला प्रमुख विपक्षी दलका सभापतिको रूपमा गगन थापाले सरकारलाई यस्तो दबाब दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Compose
Write to Meta AI





