बारा/
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बाराको फेटा गाउँपालिकाका १४ वर्षीय बालक आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। वीरगन्जस्थित नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए। उनलाई पछाडिबाट कम्मर छेउमा गोली लागेको थियो। घटनालगत्तै अस्पताल पुर्याइएका उनलाई चिकित्सकले शल्यक्रिया गरी गोली निकालेपछि भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो। शल्यक्रियापछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । घाइते बालकको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकोप्टरमा भेन्टिलेटर सुविधासहित हेम्स अस्पतालका चिकित्सकहरू वीरगन्ज आएका थिए। उनीहरूले नेशनल मेडिकल कलेजका चिकित्सकहरूसँगको लामो परामर्श र स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि बालकलाई बुवा र दाजुको साथमा सुरक्षित रूपमा काठमाडौं लगेका हुन। हाल उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको ए ब्लकको ४ नम्बर आइसियु कक्षमा राखेर उपचार सुरु गरिएको छ।






