काठमाडौँ/
नेपाली काङ्ग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साध्न प्रयोग नगर्न सरकारलाई कडा चेतावनी दिनुभएको छ।मङ्गलबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्नेहरूलाई दबाबमा पार्न र तर्साउन राज्यका संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाउनुभयो। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने खालका हल्ला फैलाइएको उल्लेख गर्दै उहाँले कसैको धम्कीबाट नतर्साउने प्रष्ट पार्नुभयो। “पक्रने साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहिँ नआउनु, हतकडी चाहिँ लिएर आउनु,” उहाँले भन्नुभयो।राजाको शासनकालदेखि विभिन्न सत्ताका तानाशाही र शक्तिशाली सरकारसँग निरन्तर प्रश्न गर्दै आएको स्मरण गराउँदै सभापति थापाले सत्य र न्यायको मार्गबाट काङ्ग्रेस कहिल्यै पछि नहट्ने बताउनुभयो। दोषीलाई कानुनबमोजिम कारबाही गर्ने कुरामा पार्टीले कुनै अवरोध नगर्ने तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्रलाई ‘प्राइभेट कम्पनी’ जस्तो चलाउन खोजिए सह्य नहुने उहाँको चेतावनी थियो। सत्ता निकटलाई उन्मुक्ति दिने र राजनीतिक विरोधीलाई मात्र निशाना बनाउने प्रवृत्ति मान्य नहुने उल्लेख गर्दै थापाले राज्य संयन्त्रको दुरुपयोग भए काङ्ग्रेसले त्यसको कडा प्रतिवाद र जवाफ खोज्ने स्पष्ट पार्नुभयो।






