काठमाडौं/
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा ठेक्का रद्दसम्बन्धी परेको उजुरीमाथिको छलफलपछि समितिले यस्तो निर्णय गरेको हो।बैठकमा समिति सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै आवश्यक कागजातहरू निर्धारित समयसीमाभित्र समितिमा पेस गर्न निर्देशन दिनुभयो।छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले प्रचलित कानुनी अवस्थाको पालना तथा भविष्यमा आउन सक्ने प्रक्रियागत जटिलतालाई दृष्टिगत गरी सार्वजनिक खरिद नियमावलीअनुसार बोलपत्र रद्द गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो। तर, बैठकमा सहभागी सांसदहरूले भने परियोजना अलपत्र पार्न नहुनेमा जोड दिएका छन्। सांसद मनिष झाले सात वर्षदेखि अन्योलमा रहेको परियोजना रद्द गरिए मधेशमा आन्दोलनको विकल्प नरहने चेतावनी दिनुभयो भने सांसद खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै ठेक्का रद्द गर्नुको ठोस कारण माग गर्दै राज्यलाई पर्ने आर्थिक नोक्सानीबारे प्रश्न उठाउनुभयो। मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको यस आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द भएपछि संसद्मा उजुरी परेको थियो।






