काठमाडौँ/
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ। साथै, प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन विगतको विषय भइसकेकाले अब त्यसको सान्दर्भिकता नरहेको भारतीय पक्षको भनाइ छ।प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले उक्त धारणा राख्नुभएको हो। लिपुलेक नाका हुँदै हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिका विषयमा प्रधानमन्त्री शाहले कुरा उठाएरनउठाएको भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा सचिव मिश्रीले दुई पक्षबीच यसबारे कुनै संवाद नभएको जवाफ दिनुभयो।ईपीजी प्रतिवेदनको सन्दर्भमा सचिव मिश्रीले त्यो पुरानो भइसकेको टिप्पणी गर्दै सीमा व्यवस्थापनका लागि दुई देशबीच बहुस्तरीय संयन्त्र सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार तल्लो तहमा फिल्ड सर्वेक्षण टोली, वरिष्ठ अधिकारीहरूको समिति र सीमा कार्यदलले सीमाका विषयमा काम गरिरहेका छन्।सन् १९५० को सन्धिलगायत दुईपक्षीय विवाद समाधानका लागि सुझाव दिन सन् २०१६ मा गठित ईपीजीले आठ वर्षअघि सन् २०१८ मै प्रतिवेदन तयार पारेको थियो। तर, पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउने सहमति भए पनि उक्त प्रतिवेदन अझै दुवै देशका सरकारलाई हस्तान्तरण हुन सकेको छैन।






