सर्लाही /
उपचारका लागि ल्याइएकी गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले सर्लाहीको बरहथवा नगर अस्पतालमा आइतबार राति आगजनी तथा तोडफोड गरेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।बरहथवा नगरपालिका–५, हात्तीडण्डाका रुपेश महरा (चमार) की २२ वर्षीया श्रीमती सीमा देवी रामको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै आफन्तले अस्पतालमा आक्रमण गरेका हुन् । तोडफोड र आगजनीबाट अस्पतालको आकस्मिक कक्षलगायत विभिन्न संरचनामा करिब ३० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न बरहथवा–५ का ३३ वर्षीय राजेशकुमार महरा, २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमराकी ४२ वर्षीया भुसेनी महरा र उनका २० वर्षीय छोरा राजन राम पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखेर थप अनुसन्धान तथा अन्य संलग्नको खोजी भइरहेको डिएसपी गौतमले बताए ।अस्पताल प्रशासनले भने बिरामीको मृत्यु अस्पतालमा नभई बाहिर भएको दाबी गरेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रितेशकुमार कर्णले सोमबार विज्ञप्ति जारी गर्दै महिलाको अवस्था गम्भीर रहेकाले कृत्रिम श्वासनली राख्नेलगायत जीवन बचाउने प्रयासपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको स्पष्ट पारेका छन् । तर, परिवारले रौतहटको चन्द्रनिगाहपुर पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट र सेवा अवरुद्ध पारिएको भन्दै अस्पतालले घटनाप्रति आपत्ति जनाएको छ । यता, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले अवस्था सामान्य बनाउन र सत्यतथ्य छानबिनका लागि पीडित पक्ष, चिकित्सक र सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन् । सम्भावित अप्रिय घटना रोक्न अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।






