काठमाडौँ/
चोरीको गाडीसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गर्दै नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोरबाट पार्किङ गरिराखेको अवस्थामा हराएको माइक्रोबस र त्यससँग संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्। प्रहरीका अनुसार, गएको कात्तिक २९ गते साँझ करिब ७.४५ बजे बा १ ज ९८०५ नम्बरको माइक्रोबस बाफल क्षेत्रको खाली जग्गामा पार्किङ गरिएको ठाउँबाट अचानक हराएको थियो। गाडीधनीले दिएको हुलिया र सूचनाको आधारमा तत्कालै खोजी कार्य तीव्र पारिएको थियो। खोजतलास तथा अनुसन्धानका क्रममा प्रहरीले सुराक पत्ता लगाई उनीहरूलाई चोरी गरिएको गाडीसहित नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा वाहनसम्बन्धी कसुरमा कानुनबमोजिम थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।






