काठमाडौं/
प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका दानबहादुर कार्कीले पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नियुक्त भएकै दिन कार्कीले नियुक्ति पत्र बुझेको जानकारी दिए। तर, निवर्तमान प्रहरी महानिरीक्षक कार्की भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध वारिसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन मन्त्रिपरिषद्ले कार्कीका लागि विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो। कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा। मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा नियुक्त गरेको थियो।कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत तयार गरिएको छ। प्रधानमन्त्रीको कार्यकक्ष रहेको तलामा नै कोठा नम्बर २०७ मा उनको नेमप्लेटसहित कार्यकक्ष स्थापना गरिएको बताइएको छ।तर, नियुक्ति भए पनि कार्की अझै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएका छैनन्। गृह मन्त्रालयका अनुसार त्यसपछि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालयमा उपस्थित हुन नपाएका हुन्।यसअघि कार्कीले सुरुमा पत्र बुझ्न नमानेको खबर सार्वजनिक भएको थियो। उच्च स्रोतका अनुसार गृह मन्त्रालयका एक कर्मचारी कात्तिक १८ गते नै कार्कीको घरमै पुगेर पत्र थमाएका थिए।गृहले भने अहिले कार्कीले नियुक्त भएकै दिन पत्र बुझेको बताएको छ।अर्कोतर्फ, कार्कीले आफूलाई महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेकाले उनको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो। तर सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएपछि पेशी चढ्न ढिलाइ हुने भएको छ।






