मुगु /
मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४स्४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा परेर गाडीमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको र पहिचानका लागि प्रहरीले काम गरिरहेको छ। गाडीमा कति जना सवार थिए भन्ने विवरण पनि आउन बाँकी छ।सडकबाट करिब १५० मिटर तल खसेको गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। कच्ची, साँघुरो र भिरालो सडकमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।दुर्घटनाको खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए। कठिन भूगोल र भिरालो ठाउँका कारण उद्धारमा समस्या भएको थियो। मृतकहरूको शव निकालेर मुगु जिल्ला अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।ताल्चा–रारा सडकखण्ड रारा ताल जाने मुख्य मार्ग हो। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै यस सडकमा सवारी आवागमन पनि बढेको छ। तर, कच्ची सडक, साँघुरो मोड र वर्षातले बिग्रिएको सडकका कारण बेला–बेलामा दुर्घटना हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ।स्थानीयले उक्त सडकखण्डलाई पक्की बनाउन, खतरनाक मोडहरूमा सुरक्षाका लागि रेलिङ राख्न र नियमित मर्मत गर्न पटक–पटक माग गर्दै आएका छन्। तर, सम्बन्धित निकायको ध्यान नपुग्दा दुर्घटनाले निरन्तरता पाइरहेको उनीहरूको भनाइ छ।विशेष गरी दशैं–तिहार तथा पर्यटकीय सिजनमा रारा जाने सवारीको चाप बढ्ने गर्दछ। यस्तो बेला चालकले गति नियन्त्रण नगर्ने र सडकको अवस्था नबुझ्ने कारणले दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ।प्रहरीले दुर्घटनामा परेका मृतकका परिवारलाई खबर गर्ने काम भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






