काठमाडौं/
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजमाथि २४ रनको जित निकालेको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले चितवनलाई २४ रनले पराजित गरेको हो। प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको कर्णालीले जितसहित यात्रा टुंग्याएको हो। तर, यस जितले कर्णालीलाई प्लेअफसम्म पुर्याउन सकेन। चितवन भने यसअघि नै प्लेअफमा पुगिसकेको छ।टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। कर्णालीका लागि हुसेन तलातले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। उनले ३३ बलमा २ चौका र १ छक्कासहित अविजित ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै आरिफुल इस्लामले ३५ रन जोडे।१५४ रनको लक्ष्य पछ्याएको चितवन १९।१ ओभरमा १२९ रनमै अलआउट भयो। चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा लक्ष्यसम्म पुग्न सकेन। चितवनका लागि डेब्यु गरेका उसामा मिरले सर्वाधिक अविजित २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर कमिल मिश्राले २५ रन तथा देव खनालले १४ रन जोडे। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।कर्णालीका लागि बलिङमा पनि हुसेन तलात नै नायक बने। उनले ३।१ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले २(२ विकेट लिए। अलराउन्ड प्रदर्शनका कारण तलात प्लेयर अफ द म्याच घोषित भए।यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले लिग चरणको अन्तिम खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेलमा हार बेहोरेको थियो। जितसँगै कर्णालीले ७ खेलबाट ६ अंक जोड्दै लिग सक्काएको छ।यता, चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो। लिग चरणका सात खेलबाट सात अंक जोडेको चितवन चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ। हारका बाबजुद चितवनको प्लेअफ यात्रामा कुनै असर परेको छैन।अब चितवनले एलिमिनेटरमा प्लेअफको अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ।






