काठमाडौं /
नेपाल प्रिमियर लिग एनपिएल तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर टाउन थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ परेका सिन्हाको साथबाट बरामद भएका २ थान मोबाइल फोन जाँच गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी कारोबार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ।प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाएको छ।एनपिएल जस्तो ठूलो प्रतियोगितामा सट्टेबाजीको जालो फैलिएको आशंकामा प्रहरीले मैदान वरपर र अनलाइन गतिविधिमा निगरानी बढाएको छ। यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






