नयाँ दिल्ली/
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै राजधानी नयाँ दिल्लीमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
मतदाता सूचीमा गरिएको हेरफेरले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने आरोप लगाउँदै विपक्षी दलहरूले एक महिनाभन्दा बढी समयदेखि विरोध प्रदर्शन गरिरहेका छन्।आइतबार भएको पछिल्लो प्रदर्शनको नेतृत्व कांग्रेस नेता राहुल गांधीले गर्नुभएको थियो। विपक्षीहरूको आरोप छ, मतदाता सूचीको विशेष गहन पुनरावलोकन (SIR) को नाममा १३ करोडभन्दा बढी नाम मतदाता सूचीबाट हटाइएको छ। हटाइएका नामहरूमा मुस्लिम र अन्य अल्पसंख्यक समुदायका मानिसहरू धेरै छन्, जसले सामान्यतया भाजपालाई भोट नदिने गरेको विपक्षीको दाबी छ।निर्वाचन आयोगले भने कुनै पनि दललाई पक्षपात नगरेको र गल्तीले नाम हटेको भए पुनः दर्ता हुन सक्ने बताएको छ। भाजपाले भने विपक्षी दलहरूले वैध चुनावी प्रक्रियामाथि प्रश्न उठाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएको छ।यो विरोध प्रदर्शन मुख्य निर्वाचन आयुक्तका दुई जना डेपुटीले नै मतदाता सूची संशोधन, दर्ता प्रक्रिया र डिजिटल प्रणालीबारे चिन्ता व्यक्त गरेपछि सुरु भएको थियो।विश्लेषकहरूले यसलाई सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछिको सबैभन्दा ठूलो राजनीतिक संकटको रूपमा हेरेका छन्। भारतमा अर्को आम चुनाव सन् २०२९ मा हुँदैछ।





