नेपालगन्ज/
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा गठन भएको बताउनुभयो ।अग्रगामी मोर्चाले आइतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले सो बताउनुभयो ।उहाँले पछिल्लो समय देशमा भइरहेका गतिविधिले मुलुकमा संकट बढाएको दाबी गर्दै त्यस्ता कार्यविरुद्ध अग्रगामी मोर्चाले जनतालाई सचेत पारिरहेको बताउनुभयो ।विगतमा भएका ठुला ठुला आन्दोलन र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र र संविधान नै खतरामा पर्न थालेको देखिएकोले आफुहरु देश दौडाहामा निस्किएको अध्यक्ष यादवले जनाउनुभयो ।सोही कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले जनताका चाहना पुरा नहुने अवस्था बन्दै गएकोले अब चुप लागेर बस्न नसकिने तथा जनताका अधिकार र चाहना पुरा गराउन आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका अधिकारको रक्षाका लागि अग्रगामी मोर्चा अघि बढ्ने बताउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माले देशमा देखिएको पछिल्लो घट्नाक्रम र गतिविधिले राजनीति नै विघटन हुने खतरा बढेको आशंका व्यक्त गर्नुभयो । उहाँले देशलाई सही दिशामा ल्याउन मोर्चाले देशभरी जागरण अभियान सुरु गरेको बताउनुभयो ।






