डोल्पा/
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन्। शुक्रबार राति भएको यस घटनापछि प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गर्दै फरार कैदीहरूको व्यापक खोजी तीव्र पारेको छ।जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य रहेका छन्। प्रहरीका अनुसार घटना कात्तिक १३ गते राति भएको हो। कारागारमा रहेका १७ जना कैदीबन्दीको सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटिएका थिए। तर ४.४३ मिटर लामो सुरुङ खनेर ८ जना भाग्दा समेत कसैले पत्तो पाएनन्। कात्तिक १४ गते बिहान पौने ६ बजे नियमित सर्च गर्ने क्रममा मात्रै उनीहरू भागेको खुलासा भएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले झ्यालबाट निकालेको फलामको रड प्रयोग गरेर कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काउँदै सुरुङ खनेका हुन्। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेकाले त्यसलाई छल्दै खनिएको देखिएको छ। राति १० बजेसम्म कैदीहरू सामान्य अवस्थामै थिए।जेलर दीर्घराज आरसीका अनुसार यो कारागार १५० जना क्षमताको हो तर अहिले १७ जना मात्र थिए। ड्युटी इन्चार्ज फेरिएको ३ दिनमै यस्तो घटना भएको र त्यसअघि कारागारभित्र लागूऔषध कारोबारको घटना भएको समेत खुलेको छ। फरार कैदीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका डेढ सयदेखि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित नाकामा कडाइ गरिएको छ। प्रहरीले उनीहरूको मोबाइलको प्राविधिक ट्र्याकिङ समेत सुरु गरेको जनाएको छ।
Compose
Write to Meta AI





