काठमाडौं/
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा सृजना मल्ल मनोनीत हुनुभएको छ। नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले मल्ललाई अध्यक्षमा मनोनीत गर्नुभएको हो। पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम केन्द्रीय समितिको निर्णयानुसार उहाँलाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्रमा उल्लेख छ।
संयोजक कोइरालाले पठाएको पत्रमा भनिएको छ — ‘अध्यक्षको रूपमा नेपाली कांग्रेसको स्थापित मूल्य मान्यतालाई आत्मसात गरी आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउनु हुनेछ।’मनोनीत अध्यक्ष मल्ल पर्वत जिल्ला निवासी हुनुहुन्छ र लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय हुनुहुन्छ।कांग्रेसमा अहिले दुई समानान्तर महाधिवेशनको अवस्था छ। एकातिर विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित हुनुभएको छ भने अर्कोतिर पूर्व सभापति शेरबहादुर देउवा समूहले आफूलाई आधिकारिक दाबी गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन तयारी समिति बनाएको छ। सोही समितिले पछिल्ला दिनहरूमा भ्रातृ संस्थाहरूमा धमाधम मनोनयन गरिरहेको छ।हिजो मात्रै सोही समितिले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको थियो। देउवा पक्षले यसलाई १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले गर्नुपर्ने दायित्व भएको बताएको छ।
Compose
Write to Meta AI





