काठमाडौँ /
काठमाडौँ जिल्ला अदालतले इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।अदालतले बिहीबार सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँलाई म्याद थप गरेको हो ।प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, पक्राउ परेका अन्य दुई जना श्रेष्ठ र भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको ‘कनेक्सन’ देखिएपछि प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो । सापकोटामाथिको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि श्रेष्ठ र भट्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






