काठमाडौँ /
नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भ्रमण निजी नभई सिङ्गो मुलुकको प्रतिनिधित्व गर्ने भएकाले भ्रमणका क्रममा भएका सहमति र छलफलबारे जनतालाई स्पष्ट जानकारी गराउनु सरकारको दायित्व भएको बताउनुभयो । महामन्त्री पौडेलले प्रधानमन्त्री शाहको दुई दिने राजकीय भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गर्नुभयो । दुई देशबीच लामो समयदेखि विचाराधीन रहेका र नटुंगिएका विषयहरूमा नेपालले स्पष्ट दृष्टिकोण राखेर निष्कर्षमा पुर्याउने आम अपेक्षा रहे पनि त्यसमा प्रधानमन्त्री सफल नदेखिएको उहाँको भनाइ छ ।”भ्रमणका क्रममा को–कोसँग भेट भयो, के–के सम्झौता भए र कुन विषय प्रक्रियामा अघि बढेका हुन्, त्यो प्रधानमन्त्रीज्यूले जनतालाई भन्नुपर्छ,” पौडेलले भन्नुभयो, “उपलब्धि भनिएका विषयहरू अन्तिम टुंगोमा पुगेका हुन् वा छलफल मात्र भएका हुन्, त्यसमा स्पष्टता आउनुपर्छ ।”यस्तै, भ्रमणका क्रममा भारतले नेपाललाई उपलब्ध गराउने भनी घोषणा गरेको सहयोग रकम ऋण हो वा अनुदान हो भन्ने विषयमा समेत सरकारले आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने माग काँग्रेसले अघि सारेको छ । पुरानै र नयाँ विवादित मुद्दाहरूमा समेत सरकारको तर्फबाट स्पष्ट अडान नदेखिएको महामन्त्री पौडेलले आरोप लगाउनुभयो ।यसैबीच, महामन्त्री पौडेलले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापनाको काममा सरकारले बेवास्ता गरेको भन्दै पीडितहरूको तत्काल उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराउनुभएको छ ।






