काठमाडौँ /
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा पाँच घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ ।सभापति लामिछानेको सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार दुई शीर्ष नेताबीच सौहार्दपूर्ण वातावरणमा समसामयिक राजनीतिक तथा शासकीय विषयमा विस्तृत छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट हासिल भएका मुख्य उपलब्धिहरूबारे सभापति लामिछानेलाई जानकारी गराउनु भएको सचिवालयले जनाएको छ ।भेटवार्तामा सरकारको समग्र कार्यसम्पादन र आगामी राजनीतिक दिशाबारे समेत विचारविमर्श भएको बताइएको छ । सचिवालय स्रोतका अनुसार छलफलका मुख्य विषयहरू निम्नानुसार रहेका छन्:

सरकार र मन्त्रालयको कामकारबाही: वर्तमान सरकारका मन्त्रीहरूको कार्यसम्पादन, मन्त्रालयगत गतिविधि र सेवा प्रवाहको प्रभावकारिताबारे समीक्षा ।
संसद् र कानुनी प्रक्रिया: आगामी संसद् अधिवेशनको तयारी तथा सरकारले ल्याउन लागेका विभिन्न अध्यादेशहरूका विषयमा परामर्श ।
आगामी निर्वाचन र पार्टी संगठन: आगामी निर्वाचनको रणनीतिक तयारी तथा रास्वपाले देशव्यापी रूपमा सुरु गर्न लागेको पार्टी प्रशिक्षण अभियानबारे छलफल ।
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने र आगामी राजनीतिक कार्यदिशा तय गर्ने सन्दर्भमा दुई नेताबीचको यो लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





