काठमाडौँ/
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गर्नुभएको छ ।विस्तृत शान्ति सम्झौता सम्पन्न भएको २० वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।विसं २०६३ मङ्सिर ५ गते तत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताको स्मरण गर्दै संयोजक प्रचण्डले यसलाई दुई पक्षबीचको सहमति मात्र नभई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गर्नुभएको छ ।उहाँले शान्ति सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको बताउँदै यही सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ ।तर, सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको प्रति उहाँले ध्यानाकर्षण गराउनुभएको छ । सन्देशमा भनिएको छ, “विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ ।” शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण भएको उल्लेख गर्दै उहाँले सम्झौताको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा राष्ट्रिय जिम्मेवारी भएको बताउनुभएको छ । सो अवसरमा उहाँले सहिद तथा बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्याउने नागरिक समाज, सुरक्षाकर्मी, बुद्धिजीवी र आम नागरिकप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।






