काठमाडौँ /
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा आफ्नो पार्टीको धारणा स्पष्ट पार्नुभएको हो । उहाँका अनुसार, निर्वाचनका लागि अनुकूल वातावरण तयार पार्न आयोग आफैंले सबै जिम्मेवारी उठाउनुभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।सोही क्रममा सभापति थापाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर एकलौटी रूपमा अघि बढ्न खोजिरहेको आरोप लगाउँदै उहाँले निर्वाचनजस्तो संवेदनशील विषयमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुने चेतावनी दिनुभयो ।यसैगरी, थापाले विगतको सन्दर्भ कोट्याउँदै गत वर्षको भदौ २३ र २४ गतेको अप्रत्याशित घटनापछिको जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण अत्यन्तै महत्वपूर्ण रहेको स्मरण गराउनुभयो । निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले तत्काल दलहरूसँग सार्थक संवाद थाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।






