चितवन/
पृथ्वी राजमार्गअन्तर्गत विभिन्न सडक खण्डमा मर्मत तथा स्तरोन्नतिको काम गर्न भोलि देखि दैनिक पाँच घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राजमार्गको घोप्टेभीरलगायतका जोखिमयुक्त क्षेत्रमा सडक निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहने कार्यालयले जनाएको छ।सडक बन्द हुने समयमा राजमार्गमा हुने सवारी चाप र जामलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले वैकल्पिक होल्डिङ स्टेसन ९सवारी रोक्ने स्थान समेत तोकेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार पोखरा तथा पश्चिमतर्फबाट काठमाडौँ वा चितवनका लागि छुटेका सवारी साधनलाई तनहुँको आँबुखैरेनीमा रोकिनेछ।यसैगरी, चितवनको नारायणगढ हुँदै मुग्लिनतर्फ जाने सवारी साधनलाई जुगेडी र आँपटारी क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ। काठमाडौँतर्फबाट आउने तथा अन्य स्थानीय सवारी साधनलाई रमाइलो डाँडालगायतका उपयुक्त स्थानमा रोकिने प्रमुख थापाले जानकारी दिनुभयो। राजमार्ग विस्तार र पहिरो रोकथामका लागि निर्माण कार्य भइरहेकाले दिउँसोको समयमा यातायात बन्द गर्नुपरेको हो। ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक बिहान ११ देखि दिउँसो ४ बजेसम्मको समय छलेर मात्र यात्रा गर्न तथा ट्राफिक नियमको पालना गरी निर्माण कार्यमा सहयोग पुर्याउन सम्पूर्ण चालक तथा यात्रुवर्गमा आग्रह गरेको छ।






