काठमाडौं /
सरकारको निर्णयबाट बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले आफ्नो बर्खास्तीको निर्णय उल्ट्याउन माग गर्दै सरकारसमक्ष पुनरावेदन गरेका छन् ।दाहालले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । आफूमाथि लगाइएको आरोप निराधार रहेको र कानुनी प्रक्रिया मिचेर बर्खास्त गरिएको दाबीसहित उनले निर्णय पुनरावलोकनको माग गरेको स्रोतले जनाएको छ ।यसअघि, संवेदनशील र गम्भीर प्रकृतिका सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको गम्भीर आरोप लगाउँदै सरकारले दाहाललाई गएको असोज २३ गते सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सशस्त्र प्रहरी नियमावलीअनुसार विभागीय कारबाही र बर्खास्तीको निर्णय चित्त नबुझेमा सम्बन्धित अधिकारीले निश्चित समयसीमाभित्र पुनरावेदन दिन पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाबमोजिम दाहालले न्यायको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् । निवेदन दर्ता भएसँगै अब मन्त्रिपरिषद्ले यस विषयमा आवश्यक कानुनी परामर्श तथा छानबिन गरी अन्तिम निर्णय लिने प्रक्रिया अघि बढ्नेछ ।






