काठमाडाैं /
नेपाली कांग्रेसले असोज ३ र ४ गते देशभरका छ हजार ७४३ वडामा वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । १५ औँ महाधिवेशनलाई पार्टी एकता र सहकार्यको अवसर बनाउने प्रयास थालिएको छ । सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गर्न आग्रह गर्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले असोज १६ गते हुने महाधिवेशन उद्घाटन सत्रमा पूर्वसभापति देउवा सहभागी हुनुपर्ने बताउनुभयो । सभापति थापाले भन्नुभयो, “अधिवेशनको दिनमा पूर्वपार्टी सभापतिले अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ । पार्टी विधानले अब देउवालाई सभापति बन्न नदिने उल्लेख गर्दै उहाँले कांग्रेसलाई एउटै परिवारका रूपमा लिएर आन्तरिक असमझदारी समाधान गर्नुपर्ने बताउनुभयो । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले महाधिवेशनमा ९० प्रतिशत नेता कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो । उहाँले पूर्वसभापति देउवालाई सर्वोच्च नेताका रूपमा सम्मान गरिने बताउनुभयो । केन्द्रीय समितिमा पूर्वसभापति देउवाको कार्यसमितिमा रहेका महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, महेन्द्र यादव, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार, गणेश लामा, किरण यादवलगायतका नेता सहभागी हुनुहुथ्यो ।






