काठमाडौं/
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना ९साउन–भदौमा २५ अर्ब रुपियाँभन्दा बढीले सरकारको राजस्व बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी हो ।गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु वर्षको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपियाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपियाँ गैरकर राजस्व रहेको कार्यालयले जनाएको छ ।यसबाहेक सरकारले अनुदान र अन्य प्राप्तिमार्फत पनि आम्दानी गरेको छ । कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले पाँच अर्ब ५३ करोड सात लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यसबाहेक एक अर्ब ३७ करोड रुपियाँ अन्य प्राप्ति रहेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित भदौसम्म सरकारले एक खर्ब ९० अर्ब १० करोड रुपियाँ आम्दानी गरेको छ जुन गत आवको भदौसम्मको तुलनामा ३० अर्ब रुपियाँले बढी हो ।






