स्याङ्जा /
नागरिकता किर्ते गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।स्याङ्जा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले बिहीबार तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं र फेदीखोला गाउँपालिका–२ का प्रयासी गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुर (किर्ते) मा मुद्दा दायर गरेको थियो । बुधबारदेखि सुरु भएको थुनछेक बहस बिहीबार सकिएपछि अदालतले उक्त आदेश जारी गरेको हो ।फेदीखोलाका गुरुङले आफ्ना बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा कागजात पेस गर्दा उनको नाममा स्याङ्जा र कास्कीबाट जारी भएका दुईवटा नागरिकता रहेको खुलेको थियो ।उक्त विवरण प्रमाणीकरणका क्रममा स्याङ्जा प्रशासनको अभिलेखमा अनधिकृत हेरफेर भएको भेटिएको थियो । छानबिनका क्रममा लेखापाल बिकले नक्कली कागजात तयार पार्ने, अपरेटर चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गर्ने र अधिकृत शर्माले प्रमाणित गरी निर्णय नै नभएको विषयमा पुरानो नागरिकता रद्द भएको देखाएको खुलेको थियो ।गत भदौ १५ गतेको सीसीटीभी फुटेज र आन्तरिक छानबिन समितिको प्रतिवेदनका आधारमा प्रशासनले कारबाहीका लागि पत्राचार गरेपछि प्रहरीले कात्तिक १६ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।






