भक्तपुर /
सरकारले वैकल्पिक व्यवस्थापनको ठोस गरिब तथा सुकुम्बासीहरूलाई निश्चित समयसीमा दिएर आश्रयस्थलबाटै हटाउने चेतावनी दिएपछि विस्थापित परिवारहरू त्रसित र आक्रोशित बनेका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास वैक तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न बुधबार लिखित अल्टिमेटम जारी गरेको हो। भूमि समस्या समाधान समितिको मङ्सिर ९ गतेको पत्रका आधारमा प्रशासनले यो कदम चालेको हो।गत वैशाख १२ गते काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धਤਾ जनाएको थियो। तर, सात महिना बित्दासमेत स्थायी आवासको टुंगो नलागेको र उल्टै होल्डिङ सेन्टरबाट समेत निकाल्न खोजिएको विस्थापितहरूको गुनासो छ। बोडेको होल्डिङ सेन्टरमा हाल १९ परिवारका ५९ जना आश्रय लिइरहेका छन्। जसमध्ये ७ परिवारलाई भूमिहीन नठहराइएको र बाँकी १२ परिवारलाई भूमिहीन ठहर गरिएको छ। प्रशासनले भूमिहीन ठहरिएकाहरूलाई घरभाडा तथा व्यवस्थापन खर्चबापत केही रकम लिएर छाड्न भनेको छ भने अन्यलाई कुनै सुविधा बिना नै हट्न निर्देशन दिएको छ।तर, विस्थापितहरूले लालपुर्जा वा उचित वैकल्पिक वासस्थानको व्यवस्था नभएसम्म सेन्टर नछोड्ने अडान लिनुभएको छ। अभियन्ता दलमर्दन कामीले उपचारका लागि जग्गा बेच्नुपरेको अवस्थालाई बेवास्ता गरी राज्यले आफूहरूलाई सडकमा पुर्याउन खोजेको बताउनुभयो।यसैबीच, पीडितहरूले वैकल्पिक आवास सुनिश्चित नभएसम्म जबरजस्ती हटाउने काम बन्द गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउनुभएको छ। प्रशासनले भने कानुनी मापदण्ड र प्रक्रियाअनुसार नै सूचना जारी गरिएको स्पष्ट पारेको छ।






