काठमाडौँ /
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेताले पार्टीका सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यतासमेतबाट सामूहिक राजीनामा दिनुभएको छ ।महाधिवेशन नजिकिँदै गर्दा सहायक महामन्त्री हरिकृष्ण अधिकारी, केन्द्रीय सदस्य मधुसुदन केसी र सरस्वती पन्थी भुसालले मङ्सिर ९ गते सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।पार्टी सञ्चालनको कार्यशैली र राजनीतिक प्राथमिकताप्रति असहमति जनाउँदै उहाँहरूले राजीनामा दिनुभएको वक्तव्यमा उल्लेख छ । पार्टीका मूल एजेन्डाभन्दा व्यक्ति केन्द्रित गतिविधिले प्राथमिकता पाएको भन्दै उहाँहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।यसअघि विवेकशील साझा पार्टीको वैकल्पिक राजनीतिक अभियानमार्फत लुम्बिनी प्रदेशको सङ्गठन विस्तारमा सक्रिय रहनुभएका उहाँहरू राष्ट्रिय पहिचान र राजनीतिक स्थायित्वका लागि राप्रपामा आबद्ध हुनुभएको थियो ।पार्टी परित्याग गरे पनि राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको पहिचान र सङ्घीयता खारेजीजस्ता राप्रपाका मूल एजेन्डाप्रति आफ्नो समर्थन कायमै रहेको उहाँहरूले स्पष्ट पार्नुभएको छ । वर्तमान नेतृत्वको कार्यशैलीप्रति मात्र असहमति रहेको बताउँदै उहाँहरूले आगामी दिनमा शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट ती मुद्दाहरूलाई नागरिकमाझ उठाउने प्रतिबद्धता जनाउनुभएको छ ।

राप्रपाको आठौँ महाधिवेशन यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । महाधिवेशनको संघारमा तीन नेताले पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





