काठमाडौँ /
नेपाल सरकारका पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याल ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ५९ वर्षीय अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सिआइबीले अर्यालविरुद्ध मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो ।नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा श्रमिकहरूसँग रकम असुली गरी करिब १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा अवैध रूपमा मलेसिया पठाउने निर्णयमा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ । पक्राउ परेका अर्यालले पदीय जिम्मेवारी र अधिकार क्षेत्र नाघेर बदनियतपूर्ण रूपमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ अपचलन गराएको अभियोग छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटलगायतको जाहेरीले नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको उक्त मुद्दामा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।विदेशी मुद्रा अपचलन गरी मुलुकको अर्थतन्त्रमा नोक्सानी पुर्याएको र सङ्गठित समूहलाई गैरकानुनी आर्थिक लाभ दिलाउने कार्यमा संलग्न रहेको अभियोगमा अर्याललाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको सिआइबीले जनाएको छ ।






