काठमाडौँ /
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भएका ६२३ विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वदेशीको हकमा स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा विदेशीको हकमा सम्बन्धित मुलुकको कूटनीतिक नियोगबाट प्राप्त सूचीमाथि दाबी विरोधका लागि दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।त्यसैगरी, बैठकले वि.सं. २०८७ सम्ममा देशका सबै समुदायलाई बहुप्रकोप पूर्वसूचना प्रणालीमा आबद्ध गर्ने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र २०८३/०८७’ स्वीकृत गरेको छ। साथै, ‘वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना (२०८३/८४–२०९१/९२)’ र ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना (२०८३–२०८७)’ समेत बैठकबाट पारित भएका छन् ।बैठकले जोखिमयुक्त बस्ती स्थानान्तरणको निर्णयसमेत गरेको छ । जसअनुसार डडेल्धुराको आलिताल गाउँपालिका–१ (भोका र माला गाउँ) का २४ घरधुरी र वडा नं. २ (बलौचा गाउँ) का २२ घरधुरीलाई सोही पालिकाको सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ । त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही नगरको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा सार्ने निर्णय भएको समितिले जनाएको छ ।






