काठमाडौं/
विस्फोटक ब्याटिङ र उत्कृष्ट टिम रणनीतिको नमुना प्रस्तुत गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएल तेस्रो संस्करणको उपाधि चुमेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको चुनौती सुदूरपश्चिमले १३ ओभर ३ बलमै बिना विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमको ऐतिहासिक जितमा ओपनर जर्ज मुन्सीले कीर्तिमानी ब्याटिङ गर्दै मात्र ५४ बलमा अविजित १२५ रनको शतकीय इनिङ्स खेले। उनलाई अर्का ओपनर तथा विकेटकिपर विनोद भण्डारीले २७ बलमा ३० रन बनाउँदै गतिलो साथ दिए र दुवै ब्याट्सम्यानले अविजित रहँदै टिमलाई सहजै लक्ष्यमा पुर्याए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको यो योगफल तयार पारेको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन जोडे।सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्ने क्रममा स्कट कुगेलेइनले दुई विकेट लिए। यस्तै, हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पार्दै लुम्बिनीको रन गतिलाई अङ्कुश लगाएका थिए। लगातार तेस्रो पटक फाइनल यात्रा तय गरेको सुदूरपश्चिमका लागि यो जित प्रेरणादायी बनेको छ। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले यसपटक भने सबै बाधाहरू पार गर्दै अन्ततः एनपीएलको शिर्ष स्थानमा आफ्नो नाम लेखाउन सफल भएको छ।






