पोखरा/
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र पार्टीका नेताहरूमाथि आक्रमणको प्रयास गर्ने व्यक्तिहरूलाई नै प्रतिनिधिसभाको टिकट दिइएको बताउनुभएको छ । देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वसभापति देउवाले उक्त धारणा व्यक्त गर्नुभएको हो ।सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री देउवाले गगन थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै आफ्नो निवासमा आक्रमण गर्नुपर्छ भन्ने अभिव्यक्ति दिने र आफूलाई ज्यान मार्ने प्रयास गर्ने व्यक्तिले समेत चार नम्बर क्षेत्रमा टिकट पाएको आरोप लगाउनुभएको छ । उहाँले विशेष महाधिवेशनका नाममा किर्ते हस्ताक्षर प्रयोग गरिएको तथा विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको सनाखतलगायतका आवश्यक प्रक्रिया पूरा नगरी पार्टी कब्जा गर्न खोजिएको दाबीसमेत गर्नुभएको छ ।जेनजी आन्दोलनका सन्दर्भमा बोल्दै पूर्वसभापति देउवाले आन्दोलनका क्रममा ५० वर्ष उमेर नाघेका व्यक्तिहरूले षड्यन्त्र गरेको र आफ्नो घर जाने बाटो अवरुद्ध हुँदा नेपाली सेनासमेत पुग्न नसकेको अवस्थामा जेनजी युवाहरूले नै आफू र पत्नी आरजु राणाको ज्यान जोगाएको उल्लेख गर्नुभयो । सोही अवसरमा उहाँले भट्टराई निवास र बीपी कोइराला परिवारको घरमा भएको आक्रमणको निन्दा गर्नुभएको छ । सामान्य गाउँमा जन्मिएर राजनीतिमा आएको स्मरण गर्दै उहाँले पार्टीले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाइसकेको र अब देशलाई योगदान दिने समय आएको विचार व्यक्त गर्नुभयो । उक्त अधिवेशनले गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री निर्वाचित हुनेछन् । त्यस्तै, प्रदेशका ११ जिल्लाबाट तीन–तीन जनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी समूहबाट १७ जना सदस्य चयन हुने जनाइएको छ ।






