भक्तपुर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भोलिदेखि सुरु हुने भारत भ्रमणको सफलता र उपलब्धिमूलक परिणामको कामना गरेको छ । तर, भ्रमणअघि प्रमुख प्रतिपक्ष तथा अन्य राजनीतिक दलहरूसँग परामर्श नगरेको भन्दै कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ ।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रको महत्त्वपूर्ण औपचारिक भ्रमणअघि राष्ट्रिय हितका साझा एजेन्डा तय गर्न प्रतिपक्षीसहितका दलहरूसँग छलफल गर्नु स्थापित लोकतान्त्रिक परम्परा रहेको स्मरण गराउनुभएको छ । वर्तमान सरकारबाट पनि सोही लोकतान्त्रिक अभ्यासको निरन्तरताको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।वरिष्ठ उपसभापति शर्माका अनुसार भ्रमणका क्रममा उठाउनुपर्ने राष्ट्रिय सरोकारका विषयमा सरकारलाई रचनात्मक सुझाव दिने कांग्रेसको तयारी थियो । त्यसका लागि पार्टीले गत बुधबार विषयविज्ञहरूको सहभागितामा ‘विशेष आन्तरिक विमर्श’ समेत आयोजना गरेको थियो । उक्त विमर्शमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायतका विषयमा गहन छलफल भएको कांग्रेसले जनाएको छ । तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल तथा विषयविज्ञहरूसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको ठहर छ । सरकार स्वयंले आवश्यक नठानेपछि नमागेको औपचारिक सुझाव आफैँ अघि सार्न उचित नलागेको स्पष्ट पार्दै कांग्रेसले भ्रमण मुलुकको हितमा केन्द्रित होस् भन्ने शुभेच्छा प्रकट गरेको छ ।






