भक्तपुर/
नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूप्रति लक्षित गर्दै कडा आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ।शनिबार भक्तपुरमा नेकपा जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियानको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिहरू खोस्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो। उहाँले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध अब चुपचाप बस्ने अवस्था नरहेको बताउँदै त्यसका विरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ चेतावनी दिनुभयो। हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि चौतर्फी प्रहार भइरहेको उहाँको आरोप छ। लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरूले यसलाई गम्भीर रूपमा लिनुपर्ने औंल्याउँदै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सुरु गरिएको राष्ट्रिय जागरण अभियानलाई सोही प्रतिरोधात्मक तयारीका रूपमा लिन आग्रह गर्नुभयो। पछिल्लो राजनीतिक घटनाक्रमप्रति लक्षित गर्दै संयोजक दाहालले जनताको अधिकार खोस्ने र देशलाई फेरि अन्योलतर्फ धकेल्ने दुष्प्रयास किमार्थ सह्य नहुने स्पष्ट पार्नुभयो। जनताको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि देशैभरका कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रूपमा सचेत र तयार रहन उहाँको आह्वान छ।कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभियानमार्फत पार्टीले जनसरोकारका मुद्दाहरूलाई उठाउँदै देशव्यापी रूपमा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने बताइएको छ।






