काठमाडौँ/
प्रधानमन्त्री वालेन्द्र शाह आगामी आइतबार मङ्सिर ६ गते छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह नयाँदिल्ली जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले शुक्रबार औपचारिक रूपमा जानकारी गराएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १.४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यतालिका छ। प्रधानमन्त्रीको नेतृत्वमा रहने औपचारिक सरकारी भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी हुने परराष्ट्र सचिव अमृत राईले जानकारी दिनुभयो। सरकारी टोलीका अतिरिक्त निजी क्षेत्रलगायतका अन्य ५२ जना भने आफ्नै खर्चमा भारत जानेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। नयाँदिल्ली बसाइका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ। भ्रमणको मुख्य आकर्षणका रूपमा सोमबार बिहान प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुनेछ। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सोही दिन भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज ९लन्च० को आयोजना गर्नुहुनेछ। दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किनुहुनेछ।






