ढाका/
बङ्गलादेशमा बढ्दो राजनीतिक तनावका बीच अज्ञात समूहले पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी गरेका छन्। प्रतिबन्धित अवामी लिग पार्टीले आह्वान गरेको देशव्यापी लकडाउनू हडतालका क्रममा यो घटना भएको हो। अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको वार्षिकोत्सवको सन्दर्भ पारेर उक्त पार्टीले आन्दोलन चर्काएको छ। चट्टोग्राम महानगरीय प्रहरीका अनुसार बुधबार मध्यरात हुनुभन्दा केही समयअघि पाँचलाइस क्षेत्रस्थित युनुसको पुर्ख्यौली निवासको पूर्वी भागको भुइँतलामा रहेको भण्डार कोठामा आगो लगाइएको थियो। गस्तीमा रहेको प्रहरी टोलीले तत्कालै आगो देखेर निभाएका कारण घरमा ठूलो संरचनात्मक क्षति हुन पाएन र कुनै मानवीय क्षति पनि भएन। यसअघि सिल्हट, राजशाही र बरिसाल लगायतका जिल्लाहरूमा युनुसले स्थापना गरेको ग्रामीण बैंकका दर्जनौँ शाखाहरूमा पनि शृङ्खलाबद्ध आगजनीका घटना भएका थिए।भारतमा निर्वासित जीवन बिताइरहेकी शेख हसिनाले हालै आगामी डिसेम्बरमा बङ्गलादेश फर्कने घोषणा गरेपछि राजनीतिक गतिविधि र तनाव पुनः चर्किएको हो।

हसिनाले आफ्नो स्वदेश फिर्तीलाई ूमृत्युले पनि रोक्न नसक्नेू बताउँदै यात्रा कागजातका लागि औपचारिक अनुरोध गरेको जनाइएको छ। यद्यपि, प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा रहेको सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले उक्त अनुरोध अस्वीकार गर्दै उनलाई कानुनी कारबाहीका लागि सुपुर्दगी गर्न भारत सरकारसँग माग गरिरहेको छ। बिहीबार दिनभर राजधानी ढाकाका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिनुका साथै प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध पार्दै सुरक्षाकर्मीसँग झडप गरेका छन्।प्रतिशोधस्वरूप अवामी लिगका प्रमुख नेताहरूको ढाकास्थित सम्पत्तिमा समेत आगजनी भएको विवरणहरू सार्वजनिक भएका छन्। सुरक्षा व्यवस्था कडा पार्दै प्रशासनले अर्धसैनिक सीमा सुरक्षा बल परिचालन गरेको छ र बुधबारयता १०० भन्दा बढी संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री रहमानले हसिनाको पार्टीको सम्भावित राजनीतिक पुनरागमनविरुद्ध लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध रहन आह्वान गरेका छन्।





