क्वालालम्पुर /एजेन्सी
मलेसिया सरकारले आगामी सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकहरूलाई प्रदान गर्दै आएको भिसा फ्री बिनाभिसा प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ । मलेसियाको अध्यागमन विभाग जेआईएमले एक आधिकारिक सूचना जारी गर्दै उक्त नीतिगत परिवर्तनबारे जानकारी गराएको हो ।नयाँ निर्णय कार्यान्वयनमा आएसँगै अब मलेसिया भ्रमण गर्न चाहने सबै भारतीय राहदानीवाहकहरूले यात्रा गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृत वैध भिसा लिनुपर्नेछ ।यसअघि मलेसिया सरकारले भारतीय पर्यटक तथा यात्रुहरूलाई लक्षित गर्दै बिनाभिसा देश प्रवेशको विशेष अनुमति दिँदै आएको थियो । उक्त सुविधाअन्तर्गत भारतीय नागरिकहरूले पर्यटन, व्यापार, सामाजिक भेटघाट तथा ट्रान्जिटका लागि ३० दिनसम्म बिनाभिसा मलेसियामा बस्न पाउने व्यवस्था थियो ।अध्यागमन विभागद्वारा जारी सूचनामा हाल कायम रहेको भिसा छुटको व्यवस्था आगामी वर्षको सुरुवातसँगै स्वतः समाप्त हुने स्पष्ट पारिएको छ । नयाँ नियम लागू भएपछि मलेसिया प्रवेश गर्ने प्रत्येक भारतीय यात्रुले अध्यागमन बिन्दुमा पूर्वस्वीकृत वैध भिसा पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।यस नीतिगत फेरबदलले विशेषगरी मलेसियालाई प्रमुख पर्यटकीय तथा व्यावसायिक गन्तव्य बनाउँदै आएका भारतीय यात्रुहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।






