काठमाडौं /
तिहार नजिकिएसँगै राजधानी काठमाडौंका फूल तथा माला पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइलाई भाइटीकामा लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी, मखमलीलगायतका फूल किन्ने उपभोक्ताहरूको बजारमा चहलपहल बढेको हो।तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिइन्छ। तिहारमा फूलको माला लगाएर घरको झ्याल, ढोका, दियोघर, कलशलगायत सजावट गर्ने भएकाले बजारमा फूलको माग समेत उच्च हुने गरेको छ।आइतबार लक्ष्मीपूजा परेकाले पनि अहिले घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउने काम तीव्र रूपमा भइरहेको छ। कोही माला किन्न व्यस्त देखिन्छन् भने कोही घर तथा पसल सजावटमा लागेका छन्।फूल तथा माला बिक्री गर्ने व्यवसायी र उपभोक्तालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले विभिन्न स्थानलाई बिक्रीस्थलका रूपमा तोकेको छ। महानगरले तोकेका स्थानमा व्यवसायीहरूले पसल सञ्चालन गरिरहेका छन् भने उपभोक्ताहरूले त्यहीँबाट फूल तथा माला खरिद गरिरहेका छन्।

महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर र आइप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ। त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई पनि स्वदेशी फूलमाला बिक्रीका लागि अनुमति दिइएको छ।यसैगरी कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स, स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीका बुद्ध मल र गुणस्तर खाल्डोलाई समेत बिक्रीस्थलका रूपमा निर्धारण गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्षको तिहारमा करिब ५१ लाख ८० हजार माला खपत हुने र करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। यसमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला पर्छन्। महानगरले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्रोत्साहन गर्दै आएको छ।





