काठमाडौं/
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज शुक्रबार, कात्तिक ६ गते भारत प्रस्थान गर्नुभएको छ। उहाँको निजी सचिवालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
सचिवालयका अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित परिवारका सदस्यहरुका साथ धनगढी नाका हुँदै भारत प्रस्थान गर्नुभएको छ। यो भ्रमणलाई सचिवालयले विशुद्ध रुपमा निजी, पारिवारिक र आध्यात्मिक तीर्थाटनका रुपमा उल्लेख गरेको छ। भ्रमणको कुनै राजनीतिक उद्देश्य नरहेको र राजनीतिक भेटघाटको कुनै आधिकारिक कार्यक्रम तय नभएको पनि सचिवालयले स्पष्ट पारेको छ।तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतका दुई अत्यन्त प्रसिद्ध र शक्तिशाली मानिने धार्मिक स्थलहरुको दर्शन गर्नुहुनेछ। भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लामा रहेको प्रसिद्ध कैंची धाम। यो धाम आध्यात्मिक गुरु नीम करोली बाबासँग सम्बन्धित छ। यहाँ हनुमानजीको विशेष उपासना गरिन्छ र बाबाको शिक्षालाई ठूलो महत्व दिइन्छ। यो स्थान धार्मिक आस्थाका साथै मानसिक शान्ति, आत्मचिन्तन र आध्यात्मिक प्रेरणाका लागि विश्वभर चर्चित छ। कैंची धामको चर्चा विश्वभर हुनुको अर्को ठूलो कारण हो, विश्वप्रसिद्ध प्रविधि उद्यमीहरुसँगको यसको सम्बन्ध। एप्पलका संस्थापक स्टिभ जब्सले सन् १९७० को दशकमा यस स्थानको भ्रमण गरेका थिए र यहाँबाट नै उनले जीवनको ठूलो प्रेरणा पाएको बताइन्छ। त्यसैगरी फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि स्टिभ जब्सकै सल्लाहमा कैंची धाम पुगेका थिए। पछिल्लो समय भारतीय क्रिकेट स्टार विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा पनि सन् २०२२ मा यहाँ पुगेर पूजाअर्चना गरेका थिए। त्यसैले यो धाम अहिले युवाहरु माझ आध्यात्मिक पर्यटनको केन्द्र बनेको छ। दोस्रो गन्तव्य, आसामको गुवाहाटीमा रहेको प्रसिद्ध कामाख्या मन्दिर। यो मन्दिर हिन्दू धर्मावलम्बीहरुको ५१ शक्तिपीठमध्ये एक मानिन्छ। यहाँ देवी सतीको योनि पतन भएको धार्मिक विश्वास छ। यो मन्दिर तान्त्रिक साधना र शक्तिपूजाका लागि विशेष रुपमा प्रसिद्ध छ। हरेक वर्ष यहाँ अम्बुबाची मेलामा लाखौं भक्तजनको घुइँचो लाग्ने गर्छ। लामिछानेले परिवारसहित यहाँ पुगेर विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।






