काठमाडौं/
शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताउनुभएको छ ।उहाँले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताउनुभयो । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताउनुभयो ।आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी ड्रोन एण्ड एन्टि–ड्रोन युनिट, र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताउनुभयो ।उहाँले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गर्नुभयो ।






