काठमाडौं/
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गर्दै वैदेशिक रोजगार विभागले उनीहरूसँग बयान लिन थालेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रवक्ता अनुपमशमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी भई ठगी र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ। ‘म्याक्रो टेक प्रालि’का नाममा ‘बायोमेडिकल सर्भिस चार्ज’ भन्दै गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलिएको र सीमित स्वास्थ्य संस्थालाई मात्र संलग्न गराई एकाधिकार कायम गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।






