ललितपुर/
फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। आज बिहान केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेपछि ललितपुरको भनीमण्डलमा ११ बजेपछि केन्द्रीय कमिटीको बैठकसुरु हुनेछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारबाट सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो। निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो। बैठकले पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ। केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।






