काठमाडौं/
नेपालगन्जमा पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रम अन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे तरकारी खेतीका बिउ वितरण गरेको छ । सूचना अधिकारी शर्माले पछिल्लो समय नगदे बालीका रूपमा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।भारतबाट आयात हुने तरकारीमा भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको किसानले बताएका छन् ।बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१४, भवानीयापुर, वडा नं। १७ परसपुर, वडा नं। १९ वसुदेवपुर, वडा नं। २१ पुरैनी र वडा नं। २२ पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।नीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीले भारतबाट आउने तरकारीको भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको उत्पादनले बजार पाएको बताउनुभयो । भारतबाट बिक्रीका लागि ल्याइने तरकारी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो । भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन् ।






